चरिकोटमा विश्व शान्ति पूजा २०८१ आजदेखि सुरु

दोलखा । विश्व शान्तिको लागि १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा २०८१ सुरु भएको छ ।

आजबाट चरिकोटस्थित टुडिखेलमा सुरु भएको १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा कार्यक्रम यहि २६ गतेसम्म सञ्चालन हुनेछ । कार्यक्रमको पहिलो दिन अतिथी एवम् भक्तजनहरुलाई स्वागत गीत र विभिन्न सांस्कृतिक झाँकीहरुसहित स्वागत गरिएको थियो ।

१० दिन सम्म करिब एक हजार लामाहरु सहभागी भई दैनिक रुपमा मन्त्र जप गर्नेछन् । कार्यक्रममा देश तथा विदेशका विभिन्न लामाहरु सहभागी हुने आयोजकले जनाएको छ । विश्व शान्तिको कामना, र धार्मिक पर्यटन प्रवद्र्धनका निम्ति यो कार्यक्रम आयोजना गरिएको आयोजकको भनाइ छ ।

हाल सम्म यो पुजा देशको विभिन्न ठाउँहरुमा हुँदै आएको र १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा कार्यक्रम दोलखामा आयोजना गर्ने तयारी अनुसार कार्यक्रमको आयोजना गरिएको संयोजक खेन्पो पेमा छिरी शेर्पाले बताउनुभयो । सो अवधीभर हजारौँको संख्यामा आउने सहभागीहरुका लागि निशुल्क खाना तथा बस्नको सुविधा पनि रहेको उहाँको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा प्रसिद्ध चलचित्र निर्देशक एवम् निर्माता मिन बहादुर भाम, गायिका आनी छोइिङ ड्रोलमा तथा गायक राजु लामाको विशेष उपस्थिति रहनेछ ।

संयोजक खेन्पो पेमा छिरी शेर्पाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु, काठमाण्डौलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको लागि करिब साढे ३ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।

तस्वीर: जीवन लामाको फेसबुकबाट