सत्तापक्ष र प्रतिपक्षले उभिएर विरोध जनाएपछि प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डौ । प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि बैठक स्थगित गरिएको हो ।

बैठक सुरु हुनासाथ प्रतिपक्षले उभिएर विरोध जनाएका थिए । त्यसपछि सत्तारूढ दलका सांसद पनि उभिएका थिए ।

त्यसक्रममा एकले अर्कामाथि आरोप लगाउनेदेखि नाराबाजीसमेत भएको थियो । दुवै पक्ष उभिएपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

यसअघि, विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान राखेका थिए ।