
अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजको धर्ना
काठमाण्डौ । अराजकता र हिंसालाई निरुत्साहित गर्न माग गर्दै नागरिक समाजले आज बिहान काठमाण्डौको माइतीघरमा धर्ना दिएको छ । माइतीघर मण्डलामा नागरिक समाजले लोकतन्त्र, मानव अधिकार र शान्तिका पक्षमा अभिमत प्रकट गर्दै अराजकता र हिंसालाई निरत्साहित गर्न मागसहित नागरिक धर्ना गरेको हो ।
गणतन्त्रको जग सबल बनाऔँ, अराजकतालाई नियन्त्रण गर, आर्थिक अनियमितता र कालोबजारी रोक, समानता, न्याय र समावेशिता सुनिश्चित गर, लोकतन्त्रको रक्षा गर, नागरिक अधिकारको संरक्षण गर, निहित सत्ता स्वार्थको द्वन्द्व अन्त्य गर, मिडियामाथिको हमला बन्द गर, प्रेस स्वतन्त्रता कायम गर, नागरिकको सुरक्षामा कुनै सम्झौता नगरलगायतका प्लेकार्ड र नारासहित उनीहरुले धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रममा गैरसकारी संस्था महासंघका अध्यक्ष एवम् वृहत नागरिक धर्ना अभियानका संयोजक समेत रहेका अर्जुन भट्टराईले लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउनुभयो । उहाँले लोकतन्त्रलाई बलियो बनाउन आह्वानसहित अहिलेका घटनामा गम्भीर हुन र नागरिकको निराशालाई चिर्न तत्काल आवश्यक कदम चाल्न आग्रह समेत गर्नुभएको छ ।