
सबै घटनाको जिम्मेवार सरकार रहेको राप्रपाको निष्कर्ष, सुनियोजित रुपमा हिंसा भड्काएको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिजोको राजावादी आन्दोलनका क्रममा भएका सबै घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने ठहर गरेको छ । आज बसेको कार्यसम्पादन समिति बैठकले सरकारकै कारण हिंसा भड्किएको निष्कर्ष निकालेको हो ।
बैठकपछि पत्रकारसँग कुरा गर्दै अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले सुनियोजित रुपमा आन्दोलन भाँडेको आरोप लगाए । शान्तिपूर्ण रुपमा सभा भइरहँदा निजी घरको छतबाट अश्रुग्याँस प्रहार गरेपछि स्थिति बिग्रिएको उनको भनाइ छ ।
‘सबै घटनाक्रम हेर्दा सरकारले आन्दोलनमा हिंसा र दमन गर्ने योजनाका साथ सुरक्षाकर्मी परिचालन गरेको देखिन्छ’, उनले भने, ‘सरकार जसरी पनि आन्दोलन विथोल्न र हिंसा भड्काउन चाहन्थ्यो ।’
लिङदेनले पार्टीका जिम्मेवार नेताहरुलाई पक्राउ गरिएको विषयमा पनि विरोध जनाए । पक्राउ परेका नेताद्वय रवीन्द्र मिश्र र धवलशमशेर राणा तोडफोड र आगजनीमा कतै पनि संलग्न नरहेको उनले उल्लेख गरे ।
हिजो मृत्यु भएका दुवैलाई शहीद घोषणा र उचित क्षतिपूर्ति दिन राप्रपाले माग गरेको छ ।