युद्धविराम तोडिएपछि गाजामा इजरायली आक्रमण तिव्र

एजेन्सी । गाजा–इजरायल युद्धविराम तोडिएपछिको इजरायली आक्रमणमा गाजामा ज्यान गुमाउनेको सङ्ख्या नौ सय नजिक पुगेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार मार्च १८ पछिको ११ दिनमा इजरायली आक्रमणमा परी आठ सय ९६ जनाको ज्यान गएको छ । यस्तै आक्रमणमा एक हजार नौ सय ८४ जना घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लू एफ पी) ले इजरायली नाकाबन्दीका कारण गाजामा तीन हप्ताभन्दा बढी समयदेखि मानवीय सहायता र खाद्य सामग्री आपूर्ति अवरुद्ध हुँदा हजारौं प्यालेस्टिनी भोकमरी र कुपोषणको चपेटामा परेको चेतावनी दिएको छ ।

इजरायल–गाजा युद्ध शुरु भएयता अहिलेसम्म इजरायली आक्रमणमा परी ५० हजार दुई सय ८ जना प्यालेस्टिनीको ज्यान गएको छ । एक लाख १३ हजार नौ सय १० जना घाइते भएका छन् ।

इजरायलमा सन् २०२३ अक्टोबर ७ तारिखमा हमासको आक्रमणमा परी कम्तीमा एक हजार एक सय ३९ जनाको ज्यान गएको थियो । यस्तै दुई सय जनाभन्दा धेरै मानिस अपहरणमा परेका थिए । यस्तै इजरायलले नोभेम्बरमा हिजबुल्लाहसँग भएको युद्धविरामपछि पहिलो पटक बेरुतमा पनि आक्रमण गरेको छ ।