महिला सशक्तीकरणमा जनआन्दोलनको विशेष योगदान छ: पूर्व राष्ट्रपति भण्डारी

रूपन्देही । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०६२–६३ को जनआन्दोलनले नेपाली महिलाको सशक्तीकरणमा विशेष योगदान दिएको बताउनुभएको छ ।

‘नेतृत्वमा महिलाको सहभागिता, न्याय र दिगो विकासको आधारशीला’ मूल नारासाथ सिद्धार्थनगर नगरपालिकाको आयोजनामा शनिबार भैरहवामा भएको लुम्बिनी प्रदेशस्तरीय महिला जनप्रतिनिधिको अन्तरसंवाद कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । जनआन्दोलनपछि पुनर्स्थापित संसदले नै महिलाका अधिकारलाई सुनिश्चित गरेको उहाँको भनाइ छ ।

पूर्व राष्ट्रपति भण्डारीले तीनै तहमा निर्वाचित जनप्रतिनिधि महिलाको भूमिका सशक्त हुँदैगएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले सिद्धार्थ नगरपालिका भैरहवाले प्रदेशभरिका जनप्रतिनिधि एकै ठाउँमा भेला गराई गरेको कार्यक्रम अर्थपूर्ण रहेको बताउनुभयो । उहाँले समाजमा अहिले पनि विभिन्न कुरीति र विकृति रहेको बताउँदै जनप्रतिनिधिमा महिला भएकै कारण विभेद भइरहेको बताउनुभयो ।

त्यस्तै, उहाँले जनप्रतिनिधिलाई अधिकार मात्र नभएर जिम्मेवारीमा पनि ध्यान दिन आग्रह गर्दै सामुदायिक विद्यालयको शिक्षा र दिवाखाजालाई सही ढङ्गले प्रदेश र स्थानीय जनप्रतिनिधिले व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो ।