तीनकुने आन्दोलनका १११ जना पक्राउ, प्रसाईंको खोजी जारी

काठमाण्डौ । हिजो भएको राजावादी प्रर्दशनको आन्दोलनमा सहभागी १११ जना पक्राउ परेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल, धर्मगुरु पुष्कर खतिवडासहित १११ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार दुर्गा प्रसाईं फरार छन् । प्रसाईंको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रसाइँको अन्तिम लोकेशन भैँसेपाटी खुलेको थियो । तर, आज बिहान त्यहाँबाट पनि उनी अन्यत्र भागेको प्रहरीको अनुमान छ ।

बालाजु क्षेत्रबाट आजै दुर्गा प्रसाईं निकट रोयल टास्क फोर्स (आरटीएफ) समूहका कमाण्डर मुनिन्द्र राजभण्डारीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रसाईंको नेतृत्वमा भएको आन्दोलनमा तोडफोड, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले पक्राउ गर्दै अनुसन्धान थालेको छ ।