
तीनकुनेमा पेस्तोल देखाउने व्यक्ति सिभिल ड्रेसका प्रहरी रहेको पुष्टि
काठमाण्डौ । काठमाडौंको तीनकुनेमा हिजो शुक्रबार राजावादीको प्रदर्शनका क्रममा पेस्तोल देखाउने व्यक्ति प्रहरी नै रहेको पुष्टि भएको छ । उनी लागुऔषध नियन्त्रण ब्युरोका असई भएको प्रहरीले जनाएको छ ।
कोटेश्वरमा राजावादीले जलाएको गाडी पनि आफूहरूकै भएको ब्युरोका प्रवक्ता एवं एसपी नारायण अधिकारीले जानकारी दिनुभयो । “फिल्डमा सादा पोसाकमा ब्युरोबाट प्रहरी परिचालन गरिएको थियो । हाम्रो गाडी जलाउने क्रममा ब्युरोकै अधिकारीबाट खटिएका प्रहरी अधिकारीले पेस्तोल देखाएका हुन्,” एसपी अधिकारीले बाह्रखरीसित भने, “तर, गोली भने चलेन । ब्युरोबाट सिभिल ड्रेसमै खटिएका हुन्छन् ।”
ब्युरोका अधिकारी सवार गाडीमाथि आगजनी गरिएपछि उनीहरूलाई तर्साउन पेस्तोल निकालिएको प्रवक्ता अधिकारीले बताउनुभयो ।
हिजो एक व्यक्तिले पेस्तोल निकालेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।