पत्रकारको हत्या र सञ्चार माध्यममाथि भएको आक्रमणको विरोध

काठमाण्डौ । राजावादी समूहले गरेको आन्दोलनका क्रममा पत्रकार सुरेश रजक मारिएको र सञ्चार माध्यममाथि आक्रमण भएको विरोधमा नेपाल पत्रकार महासङ्घले आज काठमाण्डौको माइतिघरमा विरोध सभा गरेको छ ।

हिजो तीनकुनेमा भएको आन्दोलनमा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकको ज्यान गएको थियो । साथै केही सञ्चारगृहमा तोडफोडसमेत भएको थियो ।

आज पत्रकार महासङ्घको स्थापना दिवससमेत हो । तर महासङ्घले पूर्वनिर्धारित कार्यक्रम स्थगित गरेर विरोध प्रदर्शन गरेको हो ।

पत्रकारमाथिको हिंसात्मक आक्रमणको भर्त्सना, पेशागत सुरक्षाको ग्यारेन्टी, सुरेश रजकका हत्यारालाई कारबाही तथा प्रेस स्वतन्त्रताको ग्यारेन्टीको माग गरिएको छ ।

पत्रकार महासङ्घको अगुवाइमा हिजो ज्यान गुमाएका पत्रकार रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष दीपक आचार्यले मृतक रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँले, पत्रकार तथा पत्रकारका विभिन्न सङ्घ सङ्गठनका पदाधिकरीहरुलगायतको उपस्थिति रहेको थियो ।