
काठमाण्डौ तीनकुने क्षेत्रको कर्फ्यू हट्यो, गाडीको आवतजावत सामान्य बन्दै
काठमाण्डौ । काठमाण्डौको तीनकुने क्षेत्रमा हिजो दिउँसोदेखि लगाइएको कर्फ्यूको हटाइएको छ । अहिले बिहान ७ बजेदेखि कर्फ्यु हटाइएको काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
यसअघि गएराति १० बजेसम्मका लागि जारी भएको कर्फ्यूको समय आज बिहान ७ बजेसम्मका लागि थप गरिएको थियो ।
बानेश्वर तीनकुने क्षेत्र, गौशालादेखि विमानस्थल, गैरीगाउँ, तीनकुने हुँदै कोटेश्वर, कोटेश्वरदेखि जडीबुटी पुल, कोटेश्वर बालकुमारी पुलसम्म, बानेश्वर चोकदेखि शंखमूल पुलसम्म र गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै बानेश्वर चोकसम्म कर्फ्यू आदेश जारी भएपछि आवतजावत ठप्प भएको थियो ।
काभ्रे हुँदै काठमाण्डौ ओहोरदोहोर गर्ने गाडी पनि चल्न सकेका थिएनन् । कर्फ्यू हटेपछि गाडीको आवतजावत सामान्य हुन थालेको छ । यस्तै काठमाण्डौका अरु ठाउँमा पनि गाडीको आवतजावत सामान्य रहेको प्रहरीले जनाएको छ ।