
विश्व शान्ति पुजा २०८१ को तयारी अन्तिम चरणमा
दोलखा । विश्व शान्तिको लागि १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा २०८१ को तयारी अन्तिम चरणमा पुगेको छ ।
यहि चैत्र १७ देखि २६ गतेसम्म चरिकोट स्थित टुडिखेलमा १० दिन सम्म हुन गइरहेको १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ती पुजा कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रमका संयोजक खेन्पो पेमा छिरी शेर्पाले बताउनुभयो ।
१० दिन सम्म चरिकोट स्थित टुडिखेलमा करिव एक हजार लामाहरु सहभागी भई दैनिक रुपमा मन्त्र जप गर्नेछन् । कार्यक्रममा देश तथा विदेशका विभिन्न लामाहरु सहभागी हुने आयोजकले जनाएको छ ।
सुरुमा गुरु पदमसम्भवको अभिषेक वाङ र बज्रगुरु मन्त्रजपको बारेमा रिन्पोछेबाट प्रवचन हुने र अन्य दिन दैनिक गुरु पदमसम्भवको मन्त्रजप मोन्लाम पुजापाठको साथै दैनिक धार्मिक प्रवचनहरु हुने पुजा व्यवस्थापन समितिका संयोजक मिङगुर शेर्पाले बताउनुभयो ।
हाल सम्म यो पुजा देशको विभिन्न ठाउँहरुमा हुँदै आएको र १८ औँ १० करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पुजा कार्यक्रम दोलखामा आयोजना गर्ने तयारी अनुसार कार्यक्रमको आयोजना गरिएको संयोजक खेन्पो पेमा छिरी शेर्पाले बताउनुभयो । सो अवधीभर हजारौँको संख्यामा आउने सहभागीहरुका लागि निशुल्क खाना तथा बस्नको सुविधा पनि रहेको उहाँको भनाइ छ ।
संयोजक खेन्पो पेमा छिरी शेर्पाका अनुसार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, सोलुखुम्बु, काठमाण्डौलाई लक्षित गरी यो कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको लागि करिव साढे ३ करोड खर्च लाग्ने प्रारम्भिक अनुमान छ ।