
राष्ट्रियसभाको बैठक स्थगित, विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
काठमाण्डौ । राष्ट्रियसभाको बैठकमा पनि विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ माग गरेका छन् ।
आज बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उभिएका थिए । नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले घिसिङको बर्खास्तीको निर्णयबारे प्रधानमन्त्री ओलीले जवाफ नदिएसम्म बैठक अघि बढ्न नदिने विपक्षी दलको बैठकको निर्णय सुनाउनुभएको थियो । त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभयो ।
बुधबार नै प्रतिनिधिसभामा पनि विपक्षी दलले प्रधानमन्त्रीको जवाफ मागेपछि आधा घण्टाका लागि स्थगित भएको बैठक अझै सुरु हुन सकेको छैन ।