प्रधानमन्त्री ओलीलाई कांग्रेसको पूर्ण समर्थन छ: सभापति देउवा

काठमाडौँ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो र नेपाली कांग्रेसको पूर्ण साथ समर्थन रहेको बताउनु भएको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पूर्वउपप्रधानमन्त्री एवं कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तक ‘म र मेरो सानोबुबा (आत्मकथा)’ को लोकार्पण समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो बताउनु भएको हो।

नेपाली कांग्रेस–एमालेबीच सम्बन्धमा केही आशंका पैदा भएको चर्चा परिचर्चा चलिरहेका बेलामा सभापति देउवाले प्रधानमन्त्री ओलीलाई आफ्नो र कांग्रेसको पूर्ण समर्थन रहेको बताउनु भयो।

‘म र मेरो सानोबुबा’ लोकार्पण: गिरिजाप्रसाद कोइराला फाउडेन्सनद्वारा मङ्गलबार बालुवाटारमा आयोजित सुजता कोइरालाद्वारा लिखित ‘म र मेरो सानोबुबा’ (आत्मकथा) लोकार्पण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत। सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय

सभापति देउवाले आफू र प्रधानमन्त्री ओली जेलमा सँगै बसेको र त्यही बेलादेखिको साथी भएको बताउनु भयो। राजनीति फरक ठाउँमा रहे पनि मित्रवत् भावना सधैँ रहिरहेको पनि उहाँले प्रस्ट्याउनुभयो।

सभापति देउवाले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीजी र हाम्रो पार्टीको बीचमा सहमति भएको छ। उहाँ र म जेल बस्दा गोलघरमा सँगै बसेका हौँ। हाम्रो राजनीति आफ्नो ठाउँमा छ। हामी जेलमेट भएको कारणले हामीसँगको सम्बन्ध पनि राम्रो छ। हामीबीचको सम्बन्ध राम्रो भइरहेको छ। अब पनि राम्रो सम्बन्ध भएर जानेमा दुई मत छैन। प्रधानमन्त्री ओलीजीलाई म र कांग्रेसको पूर्ण साथ र समर्थन छ।