
टर्कीएमा विपक्षी दलले हिंसा भड्काएको राष्ट्रपतिको आरोप
एजेन्सी । टर्कीएका राष्ट्रपति रेचेप तैय्यप एर्दोगानले विपक्षी राजनीतिक दलहरूलाई हिंसाको आन्दोलन भड्काएको आरोप लगाउनुभएको छ ।
गएको बुधवार एर्दोगानका राष्ट्रपति प्रतिद्वन्द्वी तथा इस्तानबुलका मेयर एवम् विपक्षी नेता इक्राम इमामोग्लु भ्रष्टाचारको आरोपमा पक्राउ परेपछि विरोध प्रदर्शन भईरहेको छ ।
छ दिनसम्म भइरहेको विरोध प्रदर्शनलाई हिंसात्मक बनाउन विपक्षी राजनीतिक दलले भूमिका खेलेको राष्ट्रपति एर्दोगानको आरो रहेको बीबीसीले जनाएको छ । प्रदर्शनका क्रममा हजारौं मानिसहरू भेला भएका र अशान्ति बढेको भन्दै प्रदर्शनकारीमाथि अश्रुग्यास र रबरको गोली हानिएको छ ।
टर्कीए सरकारले विरोध प्रदर्शन शुरु भएदेखि एक हजार एक सय ३३ जनालाई पक्राउ गरेको खबरमा उल्लेख छ । मेयर पदबाट निलम्बित इमामोग्लुले आफूमाथि लगाइएका आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको बताउँदै आउनुभएको छ । तर उनको दाबी राष्ट्रपति एर्दोगानले अस्वीकार गर्नुभएको छ ।