
संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने तीन दलबीच सहमति
काठमाडौँ । प्रमुख तीन दलका शीर्ष नेताबिच संक्रमणकालीन न्याय (टीआरसी) टुंग्याउने विषयमा दुई आयोग गठन गर्ने सहमति भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज बसेको छलफलमा प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमति जुटेको हो।
आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिबारे प्रधानमन्त्रीका विज्ञ सल्लाहकारसमेत रहेका एमाले स्थायी कमिटी सदस्य वरिष्ठ अधिवक्ता अग्नि खरेलले बताउनुभयाे ।
उहाँले भन्नुभयो, ‘बेपत्ता पारिएका व्यक्तिहरुको छानविन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिको लागि सिफारिस समिति सर्च कमिटी गठन प्रक्रिया अगाडि बढाउन प्रधानमन्त्रीले दुवै दलका नेताहरुसँग परामर्श गर्नुभयो। र परामर्श अनुसार सिफारिस समिति बढाउने प्रक्रिया अघि बढ्छ ।’
सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्थ्यो । तीन शीर्ष नेताबाहेक गृहमन्त्री रमेश लेखक, माओवादी नेता शक्ति बस्नेत, खिमलाल देवकोटा, प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल पनि छलफलमा सहभागी हुनुहुन्थ्यो।