अस्पताल बनाएर मात्रै हुँदैन, चिकित्सक उत्पादन गर्न जरुरी छ : स्वास्थ्यमन्त्री पौडेल

काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अस्पताल बनाएर मात्रै नहुने भन्दै उपचार गर्नसक्ने क्षमतावान चिकित्सक उत्पादन गर्न जरुरी रहेको बताउनुभएको छ ।

आज काठमाण्डौमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको पाँचौं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री पौडेलले जनशक्ति उत्पादित रहेको तर अस्पताललाई आवश्यकता पर्ने जनशक्ति उपलब्ध हुन नसकेको बताउनुभयो । उपत्यकाभित्र निर्वाह हुने स्थिति रहे पनि उपत्यकाबाहिर कतिपय स्वास्थ्य संस्थाहरु शुन्यताको स्थिति रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले आफ्नो भुगोलमा योगदान गर्छु भनेर उपत्यका बाहिर गएर सेवा गर्ने अठोट गर्न जरुरी रहेको बताउनुभयो । जनशक्तिको उन्नयनको पक्षमा अझ बढी फराकिलो क्षेत्र बनाएर नीतिगत व्यवस्था गरेर आउन जरुरी रहेको बताउनुभयो । आवश्यक जति तलब दिन नसकेपनि निर्वाह हुने सम्मको तलब सुविधाको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभयो ।

स्वास्थ्यमन्त्री पौडेलले अस्पताल, मन्त्रालय बनाएको नागरिकका लागि बनेको भन्दै नागरिकका लागि सहज हुने परिस्थिति बनाउन आवश्यक जरुरी रहेको बताउनुभयो । उपचार सेवाबाट कसैले पनि विमुख हुनुपर्ने स्थिति हुन नदिन सरकारले काम गरिरहेको बताउनुभयो ।