प्रधानमन्त्री कप: एपीएफले लुम्बिनीलाई सात विकेटले हरायो

काठमाण्डौ । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफले लुम्बिनी प्रदेशलाई सात विकेटले हराएको छ । सोमबार भएको खेलमा कप्तान रोहित पौडेल र पूरन विकेको शतकीय साझेदारीसँगै एपीएफले फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको छ । एपीएफको यो छैटौँ जित हो ।

जितको लागि २२४ रनको लक्ष्य पछ्याएको एपीएफले ४१.५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो ।

एपीएफका लागि पूरनले ७२ रन बनाए भने कप्तान रोहितले ७१ रन बनाए । त्यस्तै, आशिफ सेखले १८ रन, लोकेश बम र सन्दीप जोराले २१–२१ रन बनाए ।

बलिङतर्फ लुम्बिनीका राजेन्द्र बमले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले ५० ओभरमा आठ विकेट गुमाउँदै २२३ रन बनाएको थियो । लुम्बिनीका लागि कप्तान देव खनालले ६३ रन, मृनाल गुरूङले ५५ रन बनाए ।

एपीएफका अमर राउटेला र अभिषेकले समान तीन र मौसम ढकालले दुई विकेट लिए ।