
क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीद्वारा चुनावको घोषणा
एजेन्सी । क्यानडाका नयाँ प्रधानमन्त्री मार्क कार्नीले चुनावको घोषणा गरेका छन्। बिबिसीका अनुसार कार्नीले आउँदो अप्रिल २८ तारिखमा चुनाव गर्ने घोषणा गरेका हुन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्यापार युद्ध चलिरहेको बेलामा उनले प्रधानमन्त्रीको रूपमा शपथ लिएको एक सातामै चुनावको घोषणा गरेका हुन्।
चुनावमा लिबरल पार्टीका कार्नीले कन्जर्भेटिभ पार्टीका नेता पियर पोइलिएभरसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। पछिल्लो चुनावी विश्लेषणहरूले दुई पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गर्दै आएको छ।
चुनाव घोषणा भएसँग त्यहाँको संसद पनि भंग भएको छ। त्यहाँ हाउस अफ कमन्समा सत्तारूढ लिबरल पार्टीको १५२ सिट छ। विपक्षी दल कन्जर्भेटिभको १२०, द ब्लक क्युबिकोइसको ३३, द एनडिपीको २४ र ग्रिन पार्टीको दुई सिट छ।
आइतबार ओटावामा बोल्दै कार्नीले ट्रम्पसँग ‘डिल’ गर्न स्पष्ट र सकारात्मक जनादेश आवश्यक रहेको बताए।
‘राष्ट्रपति ट्रम्पको अनुचित व्यापारिक कार्य र उनले हाम्रो सार्वभौमसत्ता माथि उनले दिएको धम्कीका कारण हामी जीवनकालकै महत्वपूर्ण चुनौतिको सामना गरिरहेका छौं,’ उनले भनेका थिए।
५९ वर्षीय कार्नी क्यानडाको केन्द्रीय बैंक र बेलायती केन्द्रीय बैंकका पूर्व गभर्नर हुन्।
प्रधानमन्त्री कार्नीले सुरूदेखि नै ट्रम्पको आलोचना गर्दै अमेरिकासँगको व्यापार युद्ध जित्ने दाबी गर्दै आएका छन्।
कार्नी बलियो राजनीतिक पृष्ठभूमीबाट आएका होइनन्।
यद्यपि कार्नीले दुई जी ७ राष्ट्रहरूको दुइटा बैंकको गभर्नर भइसकेको हैसियतले ट्रम्पसँग डिल गर्न आफू उत्तम व्यक्ति रहेको दाबी गर्दै आएका छन्।