शेयर बजार आज ३० अङ्कले बढ्यो

काठमाण्डौ । शेयर बजार ६ कारोबार दिनपछि आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५२ अङ्कले बढेर २ हजार ६ सय ४५ दशमलव २० विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर बढेकोमा फाइनान्स समूहको शेयर ३ दशमलव ७५ प्रतिशतले उकालो लागेको छ । यस्तै जीवन बीमा, अन्य, लगानी समूहको शेयर साढे १ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ । समग्रमा बजार बढेको दिन अपर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर भने झन्डै ५ प्रतिशतले घटेको छ ।

नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । हिजो ६ अर्ब ३२ करोडको कारोबार भएकोमा आज ३ सय २६ वटा कम्पनीका ९७ लाख ३९ हजार कित्ता शेयर ४ अर्ब ४८ करोड रुपैयाँमा किनबेच भएको छ ।