राज्यका निर्देशक सिद्धान्तको प्रभावकारी कार्यान्वयनबाट मात्रै विकास र समृद्धि : राष्ट्रपति पौडेल

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले उपलब्ध स्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने बताउनुभएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८० र २०८१ मा सम्पादित प्रमुख कार्यहरू समेटी तयार पारिएको सरकारको नवौं वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो बताउनुभएको हो । उहाँले त्यसतर्फ तदारुकताका साथ सरकार लाग्नुपर्नेमा जोड दिनुभयो । पौडेलले नेपालको संविधानको मूल मर्म र भावना एवम् राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व सम्बन्धी संवैधानिक व्यवस्थालाई कार्यान्वयन गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

उपलब्ध स्रोत, साधन परिचालन गरी राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको प्रभावकारी कार्यान्वयन गर्नसके मात्रै देशमा दिगो शान्ति, सुशासन, सामाजिक न्याय, समतामूलक समाज निर्माण एवम् विकास र समृद्धिको संवैधानिक उद्देश्य प्राप्त गर्न सकिने हुँदा त्यसतर्फ नेपाल सरकारको तदारुकता आवश्यक भएको बातउनुभयो ।

राष्ट्रपति पौडेलले आउँदा दिनमा समेत नेपालको संविधानको मर्म र भावना बमोजिम राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व अनुसारका काम, कारबाही प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल सरकार अझ सक्रिय र क्रियाशील रहने विश्वास व्यक्त गर्नुभयो ।