तहगत सरकारको कार्यविभाजन स्पष्ट बनाउने काम भइरहेको छ : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यले नागरिकलाई प्रदान गर्दै आएका सेवा प्रवाहलाई थप प्रभावकारी, झन्झटमुक्त र सहज बनाई राज्यप्रदत्त सेवामाथि सबैको पहुँच पुर्‍याउन सरकारले आफ्नो प्रयास केन्द्रित गरेको बताउनुभएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०८०र २०८१ मा सम्पादित प्रमुख कार्यहरू समेटी तयार पारिएको सरकारको नवौं वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । उहाँले सरकारले लिएका नीति र कार्यक्रमबाट विद्यार्थीले विद्यालयमा भर्नासँगै पाठ्यपुस्तक पाउने अवस्था सुनिश्चित भएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले बाली लगाउने समयमा किसानलाई मल उपलब्ध गराइएको र मल खरिद एवम् आपूर्ति व्यवस्थापनमा बजेटको अभाव हुन नदिने गरी चालू आर्थिक वर्षका लागि समेत बजेट सुनिश्चित गरिएको दाबी गर्नुभयो । उहाँले नागरिकता, राहदानी, लाइसेन्स, विदेश अध्ययनका लागि नो अब्जेक्शन लेटर लगायतका सेवाहरूमा घण्टौं लाइन लाग्ने अवस्थाको अन्त्य गरिएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले शीघ्र सार्वजनिक सेवा र सुशासनका क्षेत्रमा वर्तमान सरकारले सुरु गरेको नागरिक एप त्यस्तै एउटा पहल भएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले सरकार प्रशासनिक तथा वित्तीय सङ्घीयतालाई थप सुदृढ बनाउन विभिन्न सुधारका कार्यहरूमार्फत प्रयासरत रहेको बताउनुभयो । यस अवधिमा बिजुली उत्पादन र प्रसारण लाइन विस्तारसँगै अन्तरदेशीय विद्युत् व्यापार गर्न समेत नेपाल सफल भएको उहाँको भनाइ छ ।

प्रधानमन्त्रीले आर्थिक वर्ष २०८०र०८१ सम्ममा ६८ वर्षमाथिका १६ लाख ८९ हजार एक सय ९६ जना ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता र आठ लाख ३६ जना बालबालिकाले बाल संरक्षण अनुदान प्राप्त गरेको जानकारी गराउनुभयो । यस्तै ९९ दशमलव ९ प्रतिशत बालबालिका पूर्वप्राथमिक शिक्षामा भर्ना भएका र घरजग्गा स्वामित्व पुगेको महिला २५ प्रतिशत पुगेका उहाँले बताउनुभयो ।