
प्रेस चौतारी नेपालको १० औँ महाधिवेशन विराटनगरमा सुरु
विराटनगर । नेकपा एमाले निकट पत्रकारहरूको संस्था प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशन विराटनगरमा सुरु भएको छ ।
महाधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार विराटनगर पुगेको प्रेस चौतारी नेपालका नेताहरूले बताएका छन् । महाधिवेशनको एमाले महासचिव शङ्कर पोखरेलले उद्घाटन गर्नुभयो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीसहित एमालेका केन्द्रीय नेताहरू पनि सहभागी छन् ।
कार्यक्रममा प्रेस चौतारी नेपालले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको छ भने प्रेस चौतारीले प्रदान गर्ने भिन्न पुरस्कार पनि कार्यक्रममा प्रदान गरिएको छ ।
तीन दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । चौतारीको अध्यक्षका लागि वर्तमान उपाध्यक्ष राजेश राई र गणेश पाण्डेले दाबेदारी पेस गर्ने तयारी गरेका छन् ।