
दिक्तेल नगरपालिकाले राष्ट्रपतिसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार दिने
खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलसहित नेपालका उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट निर्मित कुर्सी र टेबल उपहार दिने तयारी गरेको छ । नगरपालिकाले राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई यही महिना बाँसबाट बनाइएको एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरेको हो ।
स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वनयन गर्न माग गर्दै उच्चपदस्थ छ जना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरेको मेयर तीर्थराज भट्टराईले बताउनुभयो ।
उपहार दिने कुर्सी आज काठमाण्डौ पठाएको र टेबल भने केही दिनपछि पठाउने उहाँले बताउनुभयो । मेयर भट्टराई र उपमेयर विशन राईले आफ्नो कार्यकक्षमा स्थानीयस्तरमा उत्पादन गरिएका बाँसकै फर्निचर प्रयोग गर्नुभएको छ ।
बाँस उद्योग सञ्चालनका लागि नगरपालिकाले स्थानीय बासिन्दा एवम् उद्यमीलाई तालिम तथा सामग्रीसमेत उपलब्ध गराउँदै आएको छ । नगरपालिकाका स्थानीय बासिन्दा एवम् उद्यमीले उत्पादन गरेका बाँसका विभिन्न प्रकारका घरेलु सामग्री दिक्तेलमा रहेको कोसेलीघरले खरिद गरेर बिक्री गर्दै आएको छ । नगरपालिका भित्र १३ किसिमका बाँस पाइन्छन् ।