
संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउँछौं : सभामुख घिमिरे
काठमाण्डौ । सभामुख देवराज घिमिरेले संसदमा विचाराधिन विधेयकहरु शिघ्र टुंग्याउने काम भइरहेको बताउनुभएको छ ।
आज ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले संसदमा विचाराधिन रहेका निजामति कर्मचारी, प्रहरी र विद्यालय शिक्षासँग सम्बन्धित विधेयकहरु छिटो टुंगो लगाउने काममा लागिरहेको बताउनुभएको हो ।
सभामुख घिमिरेले संविधानले प्रदान गरेका अधिकार पूर्ण रुपमा प्रयोग गर्नसक्ने वातावरण अझै बन्न नसकेको गुनासो आइरहेको बताउनुभयो । उहाँले संघीय निजामति सेवा ऐनको अभावले प्रशासनिक संघीयता कमजोर बनाएको आम जनगुनासो आएको पनि बताउनुभयो ।
सभामुख घिमिरेले संविधानले अधिकार विकेन्द्रिकरण गरे पनि व्यवहारमा केन्द्रिकरण बढिरहेको बताउनुभयो । योजना तर्जुमा र बजेट वितरण संघमा सिमित रहनु संघीयताको मर्मअनुसार नभएको बताउनुभयो । संघीयता बलियो बनाउन अन्तरप्रदेश परिषद्, अन्तर सरकारी वित्त परिषद् र राष्ट्रिय समन्वय परिषद् जस्ता फोरमहरुलाई क्रियाशिल बनाउन जरुरी रहेको बताउनुभयो । उहाँले संघीयताको विकल्प खोज्नुको सट्टा यसको सबलीकरण र संघीयतामा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
सभामुख घिमिरेले वित्तीय संघीयताको पक्ष सन्तोषजनक रहेको पनि बताउनुभयो ।