एसइईमा पाँच लाख विद्यार्थी

काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० बिहीबारदेखि सञ्चालन हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ । परीक्षा १९ गतेसम्म सञ्चालन हुने छ । परीक्षामा सहभागी हुन पाँच लाख १४ हजार ७१ विद्यार्थीले फाराम भरेका छन् । तीमध्ये कति जना परीक्षामा सहभागी हुने छन् भन्ने यकिन छैन । परीक्षा सञ्चालनका लागि मुलुकभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलका अनुसार परीक्षाका लागि सबै जिल्लामा उत्तरपुस्तिका र प्रश्नपत्र पुर्‍याइसकिएको छ ।

परीक्षामा अनिवार्य विषयका लागि प्रदेश अनुसार फरक फरक प्रश्नपत्र तयार पारिएको छ । ऐच्छिक विषयमा भने विद्यार्थी सङ्ख्याको आधारमा कुनैमा दुई प्रकारको र कुनैमा एक प्रकारको मात्रै प्रश्नपत्र छापिएको छ । यस पटक जापानबाट २९ जना परीक्षार्थीले एसइईमा सहभागिता जनाउँदै छन्, जुन जापानमा सञ्चालित नेपाली भाषाको विद्यालयका विद्यार्थी हुन् ।

जापानका लागि पनि उत्तरपुस्तिका पठाइसकिएको छ भने प्रश्नपत्र परीक्षाकै समयमा त्यहाँ रहेको नेपाली दूतावासमार्फत पठाइने छ । त्यहाँको परीक्षा सञ्चालन दूतावासमार्फत नै गरिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । परीक्षालाई थप समावेशी बनाउन यस वर्ष बाल सुधारगृह र कारागारमा समेत गरी तीन वटा विशेष परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षाको गुणस्तर कायम राख्न र नक्कललाई निरुत्साहित गर्न विशेष निगरानीको व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सबै विद्यार्थीले न्यायोचित अवसर पाउनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताउँदै परीक्षालाई सफलतापूर्वक सम्पन्न गर्न सबै सरोकारवाला निकायहरूको सहयोग आवश्यक रहेको बताउनुभयो ।

मन्त्री भट्टराईले परीक्षा सञ्चालनमा कुनै पनि कमजोरी स्वीकार्य नहुने स्पष्ट पार्दै स्थानीय र प्रदेश सरकारसँग समन्वय र सहकार्यबाट मात्रै परीक्षा सफलतापूर्वक सम्पन्न हुने बताउनुभयो । नियमविपरीत कार्य गर्ने जोकोहीलाई पनि कठोर कारबाही गरिने चेतावनी दिँदै उहाँले परीक्षाको मर्यादा कायम राख्न नसकेमा शिक्षा विकास तथा समन्वय एकाइका प्रमुखहरूसमेत जिम्मेवार हुनुपर्ने बताउनुभयो ।