
एसईई आजदेखि, उच्च मनोबलका साथ निर्धक्क भएर परीक्षा दिन आग्रह
काठमाण्डौ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।
यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले उच्च मनोबलका साथ एसईईमा सामेल हुन विद्यार्थीहरुलाई आग्रह गर्नुभएको छ । भिडियो सन्देशमार्फत उहाँले एसईईमा सहभागी हुने विद्यार्थीलाई धैर्यका साथ परीक्षामा सहभागी हुन आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्रीले विद्यार्थीलाई अनिँदो, थकित अवस्थामा राम्रो परीक्षा दिन गाह्रो हुने भएकाले त्यसबाट जोगिनसमेत आग्रह गर्नुभएको छ । उहाँले विद्यार्थीलाई धेरै परीक्षा पास गरेर यहाँ आइसकेको भन्दै परीक्षासँग नतर्सिन पनि आग्रह गर्नुभएको छ ।
यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । गएको वर्षको एसईई परीक्षामा चार लाख ६४ हजार सात सय ८५ जना विद्यार्थी सहभागी भएका थिए । पोहोरभन्दा यस वर्षको परीक्षामा विद्यार्थीको सङ्ख्या ४९ हजार दुई सय ८६ जना बढेको छ ।
यस वर्षको परीक्षामा जापानको एक परीक्षा केन्द्रमा २९ जना विद्यार्थी सहभागी हुने र काठमाण्डौको केन्द्रीय कारागार र दैलेखका दुई कारागार तथा भक्तपुरको बालसुधार गृहबाट पनि विद्यार्थीलाई परीक्षा दिने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।
यस वर्ष सबैभन्दा बढी काठमाण्डौमा ३९ हजार ६ सय विद्यार्थी र सबैभन्दा कम मनाङ्मा ४३ जनाले परीक्षा दिँदैछन् । एसईई आजदेखि शुरु भएर १९ गतेसम्म चल्नेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षा तालिकानुसार आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुँदैछ ।
बोर्डले यस वर्ष असार ७ गतेभित्र परीक्षाको नतिजा सार्वजनिक गर्ने भएको छ भने न्यूनतम ३५ अङ्कभन्दा कम ल्याउने परीक्षार्थी अनुत्तीर्ण हुनेछन् । लेटर ग्रेडिङ प्रणालीमै यस वर्ष पनि परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ ।