मध्यवर्ती क्षेत्रका निजी सम्पत्तिहरुको समस्या समाधान गर्न सरकार गम्भीर छ : वनमन्त्री ठकुरी

काठमाण्डौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले राष्ट्रिय निकुञ्जभित्र मध्यवर्ती क्षेत्रमा परेका निजी सम्पत्तिहरुको समस्या समाधान हुनेगरी अघि बढ्नुपर्नेमा मन्त्रालय सकारात्मक रहेको बताउनुभएको छ ।

आज सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र विकासअन्तर्गत रहेका निजी भवन, जग्गा र उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेको गुनासो रहेको भन्दै यसलाई सरलीकरण गर्न मन्त्रालय तयार रहेको वनमन्त्री ठकुरीले बताउनुभयो ।

मन्त्री ठकुरीले मध्यवर्ती क्षेत्र विकास समितिको हालको विद्यमान अवस्था केही फरक रहेको भन्दै यसलाई संशोधनकर्ताहरुको संशोधन र छलफलबाट ऐनको परिभााषामै फेरबदल गर्नुभन्दा नियमावलीमा गएर केही सरल गर्नुपर्नेतर्फ सरकारले सोचिरहेको बताउनुभयो ।

अहिले देखिएका समस्यालाई समाधान गर्न नियमावलीमा जति मिलाउन सकिन्छ, त्यो गर्न मन्त्रालय गम्भीर र सकारात्मक भएको बातउनुभयो । रष्ट्रिय निकुञ्ज भित्रको निजी आवास, निजी जग्गाहरु, निजी घरहरु परेको, उनीहरुले व्यवसायिक रुपमा आफ्ना अरु गतिविधिहरु गर्न नियमावलीले समस्या पारेकोलाई सहज ढंगले समस्याको समाधन गर्न सकिने र मन्त्रालय सकारात्मक भएको जिकिर गर्नुभयो ।

समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल भएको हो ।