इजरायलले गाजामा गरेको हवाई आक्रमणमा ४ सय जनाभन्दा धेरैको मुत्यु

एजेन्सी । इजरायलले गाजामा गरेको हवाई आक्रमणमा परी चार सय जनाभन्दा धेरैको मुत्यु भएको छ । इजरायली आक्रमणमा अहिलेसम्म ४ सय ४ जनाको मुत्यु भएको र ६ सय जनाभन्दा धेरै घाइतेलाई अस्पताल पुर्‍याइएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इजरायली आक्रमणमा आफ्ना चार जना सुरक्षा अधिकारी मारिएका हमासले जनाएको छ ।

जनवरी १९ मा युद्धविराम लागू भएयता यो सबैभन्दा ठूलो हवाई आक्रमण हो । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको कार्यालयले हमासले आफ्ना देशका बन्धकहरूलाई रिहा गर्न बारम्बार अस्वीकार गरेको र पहिलो चरणको युद्धविराम लम्ब्याउने प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै अबदेखि हमासविरुद्ध बढ्दो सैन्य शक्तिका साथ कारबाही गर्ने बताएको छ ।

हमासले इजरायललाई रक्षाहीन नागरिकहरूमाथि आक्रमण गरेको आरोप लगाउँदै मध्यस्थकर्ताहरूले इजरायललाई युद्धविराम उल्लङ्घनका लागि पूर्णरूपमा जिम्मेवार ठहराउनुपर्ने बताएको छ । हमासले यो आक्रमणले इजरायलका बाँकी बन्धकहरूको भविष्यलाई अन्योल बनाएको पनि जनाएको छ ।

हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायमा आक्रमण गर्दा एक हजार दुई सय जनाको ज्यान गएको थियो भने दुई सय ५१ जनालाई बन्धक बनाएको थियो । यो आक्रमणपछि इजरायलले गाजामा सुरू गरेको कारबाहीमा अहिलेसम्म ४८ हजार पाँच सय जनाभन्दा धेरैको ज्यान गएको छ । मुत्यु हुनेमा धेरैजसो गैरसनिक छन् ।

मार्च १ तारिखमा अस्थायी युद्धविरामको पहिलो चरण समाप्त भएपछि वार्ताकारहरूले अगाडि बढ्ने बाटो खोज्ने प्रयास गरिरहेका छन् । अमेरिकाले पहिलो चरणलाई अप्रिलको मध्यसम्म लम्ब्याउने प्रस्ताव गरेको थियो जसमा हमासले बन्धक र इजरायलले प्यालेस्टिनी कैदीको थप आदानप्रदान गर्ने विषयलाई समावेश छ । तर वार्ताको प्रक्रिया अघि बढ्न सकेको छैन ।

इजरायलले गाजामा अझै पनि ५९ बन्धक रहेका र तीमध्ये २४ जना जीवित रहेका विश्वास गरेको छ । बन्धक परिवारहरूको प्रतिनिधित्व गर्ने एउटा समूहले इजरायली सरकारले नयाँ आक्रमण शुरू गरेर बन्धकहरूको भविष्य अन्योलमा पारेको आरोप लगाएको छ ।