
वैशाख २४ गतेभित्र त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान हुन्छ : मन्त्रालय
काठमाण्डौ । शहरी विकास मन्त्रालयले आउँदो वैशाख २४ गतेभित्र कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माण र फ्लडलाइट जडान कार्य सम्पन्न गर्ने बताएको छ । आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयका प्रवक्ता एवम् सहसचिव नारायण मैनालीले यो जानकारी दिनुभएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतको सङ्घीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको प्यारापिट निर्माण र फ्लडलाइट जडानका लागि ठेकेदार कम्पनीसँग यही फागुनमा सम्झौता गरेको थियो ।
त्रिवि क्रिकेट मैदानमा प्यारापिट निर्माणका लागि काठमाण्डौको टङ्गालमा रहेको बीकेओआई–केसीडीसी–बीजी जेभीले ४३ करोड ७७ लाख रुपैयाँमा ठेक्का पाएको थियो । यस्तै फ्लडलाइट जडानका लागि ललितपुरको गुसिङ्गलमा रहेको विशाल–ईश्वरी जोइन्ट भेन्चरले ४२ करोड १९ लाख रुपैयाँमा ठेक्का पाएको थियो ।