एपीएफलाई हराउँदै आर्मीको लगातार पाँचौं जीत

काठमाण्डौ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ३ विकेटले हराएको छ ।

एपीएफले दिएको १ सय ४२ रनको लक्ष्य आर्मीले ४३ बलअघि ७ विकेट गुमाएर भेटायो । आर्मीका कुशल मल्ल र सोमपाल कामीले नटआउट ३१ र २२ रन बनाए । एपीएफका कमल ऐरी, अमर रौटेला र कप्तान रोहित पौडेलले २र२ विकेट लिए ।

यसअघि रुपन्देहीकै एक्स्ट्राटेक ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४२ ओभर ३ बलमा १ सय ४१ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका सन्दीप जोराले सबैभन्दा धेरै ६५ रन बनाए । आर्मीका आकाश चन्दले ४, सोमपाल कामीले ३ विकेट लिए ।

प्रतियोगितामा आर्मीको यो लगातार पाँचौं जीत हो भने एपीएफको पाँच खेलमा दोस्रो हार हो ।