हुथी विद्रोहीमाथि अमेरिकाले गरेको हवाई आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या ५३ पुग्यो

यमनका हुथी विद्रोहीहरूमाथि भएको अमेरिकी हवाई आक्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ५३ जना पुगेको छ । ज्यान गुमाउनेहरूमा पाँच जना बालबालिका पनि रहेका हुथी विद्रोहीहरूको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अमेरिकाले अस्ति शनिवार हुथी विद्रोहीहरूविरुद्ध निर्णायक र शक्तिशाली हवाई आक्रमण सुरु गरेको बताएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लाल सागरमा जहाजमा हुथी विद्रोहीहरूले गरेको आक्रमणलाई प्रतिक्रिया स्वरूप उनीहरूविरुद्ध कारबाही अगाडि बढाएको बताउनुभएको थियो । आक्रमणमा मारिएकाहरूमा हुथी विद्रोहीका उच्च पदस्थ नेताहरूसमेत रहेका अमेरिकाको दाबी छ ।

यसैबीच हुथी विद्रोही नेता अब्दुल मलिक अल–हुथीले यमनमा अमेरिकी आक्रमण भइरहे आफूहरूले लाल सागरमा अमेरिकी जहाजहरूलाई लक्षित गरिरहने बताएका छन् ।

राष्ट्रपति ट्रम्पले हुथी विद्रोहीको डकैती, हिंसा र आतङ्कले अर्बाैं डलरको क्षति भएको भन्दै मानिसहरूको जीवनलाई समेत जोखिममा पारेको बताउँदै आउनुभएको छ ।