त्री दिवसीय “व्यवहारमा करुणा ध्यान शिविर” आइतबारदेखि प्रारम्भ

सुप्रिया राई, काठमाण्डौ । बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिले त्री दिवसीय “व्यवहारमा करुणा ध्यान शिविर” आयोजना गरेको छ ।

कार्यक्रम संयोजक रामबाबु सापकोटाका अनुसार शिविर चैत ३ देखि ५ गतेसम्म बौद्ध तीनचुलीस्थित नाम्गेल झ्याङछुब छ्योलिङ गुम्बामा सञ्चालन हुनेछ ।

प्रमुख अतिथि गुरु टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेले द्वीप प्रज्वलन गरी बौद्ध धर्मले दिएको ज्ञानलाई आफ्नो जीवनमा कसरी अवलम्बन गर्न सकिन्छ भनेर आशीर्वाचन दिनुभयो ।

उहाँले ध्यान र धर्मबीचको फरकलाई आत्मसाथ गरि मन, शरीर र वचनलाई स्वच्छ अनि शुद्ध बनाउन आग्रह गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथी तथा श्री बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाले मानवीय जीवनका हरेक दुःख, कष्ट, ईष्र्या, लोभ, रिस र क्लेशजस्ता नकरात्मक तत्वलाई बौद्ध दर्शनले सहजीकरण गर्ने बताउनुभयो । साथै आध्यात्मको बाटोबाट आगामी दिनमा पनि संस्कृतिको जगेर्ना, बौद्ध धर्मको प्रचार, पर्यटन प्रवद्र्धन र शान्ति स्थापना हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक होम बहादुर दोङले उक्त शिविरको महत्त्व उजागर गर्दै आजको समयमा बौद्ध दर्शनलाई बुझ्नु अति आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा रहेको विविध प्रकारको दवावका कारण मानिसहरू मानसिक रूपमा अस्थिर हुने गरेको र ध्यान गर्नाले अनुशासित तथा स्वस्थ जीवनयापन गर्न मद्दत गर्ने उल्लेख गर्नुभयो । साथै, उहाँले कागजी ज्ञान मात्र पर्याप्त नहुने भएकाले आध्यात्मिक ज्ञान पनि आवश्यक रहेको बताउनुभयो ।

बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका अध्यक्ष फूपु छेम्बे शेर्पा खेन्पो गेसे थुप्तेन जिग्डोलले शिविरहरु देशका हरेक विकट गाँउमा पनि केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । सिमित स्रोत साधनका कारण विभिन्न कार्यक्रमहरु वृहत ढंगले अघि बढाउन चुनौती थपिएकाले तीनै तहको सरकारले त्यसमा सहजीकरणको भूमिका खेलि सहयोग गर्नुपर्ने उहाँको जिकिर छ ।

त्री दिवसीय ध्यान शिविरका प्रशिक्षक खेन्पो निमा ढिन्डु शेर्पाका अनुसार सहभागीहरुले सुनेर, पढेर मात्रै नभइ सिकेका कुरालाई निरन्तर अभ्यासमा उतारेर सिविरलाई सार्थक बनाउन सक्नेछन् ।

त्यस्तै, बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिका सदस्य महेन्द्रजंग तामाङले देशैभरका विभिन्न गुम्बाका लामा, आनी र अन्य सहभागीहरुले ध्यान शिविरबाट भरपुर ज्ञान लिएर बौद्ध दर्शन, चिन्तन र ध्यानको बाटोमा अग्रसर हुन सकिने विश्वास व्यक्त गर्नुभयो ।