पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सुविधा दिने तयारीप्रति सांसदहरूको असन्तुष्टि

काठमाण्डौ । सांसदहरूले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा सुविधा दिन लागेको भन्दै विरोध गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा बोल्दै सांसदहरूले देशको अर्थतन्त्र सुदृढ नभएको र नागरिकले न्यूनतम आवश्यकताको सुविधा पनि नपाइरहेका बेला पूर्वविशिष्टहरूलाई सुविधा थप्नु गलत हुने बताएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामकृष्ण यादवले पूर्वविशिष्ट पदाधिकारीका लागि सुविधा दिन भनेर सरकारले कानून बनाउन लागेको भन्ने समाचार सुनेको भन्दै त्यसबारे सरकारले जवाफ दिनुपर्ने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद हितराज पाण्डे र देवेन्द्र पौडेलले पनि सेवा सुविधा बढाउने कुराको विरोध गर्नुभयो । सांसद पौडेलले देश ‘ग्रे-लिस्ट’ मा परेको र ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गर्ने भ्रष्टाचार सूचकाङ्कमा सुधार नआएका बेला सरकारले पूर्वविशिष्टहरूको सेवा सुविधा बढाउन खोजेको भन्दै विरोध गर्नुभयो ।

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले पूर्वविशिष्टहरूको सेवा सुविधासम्बन्धी विधेयक नल्याउन चेतावनी दिनुभयो । राजनीति सेवा भएको भन्दै उहाँले यसलाई सरकारी जागिरको पेन्सनजस्तो बनाउन नहुने बताउनुभयो । उहाँले राज्यबाट सेवा सुविधा पाउने वर्तमान पदाधिकारी र सांसदहरूको पनि सुविधा घटाउन प्रस्ताव गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रोशन कार्कीले पनि पूर्वविशिष्टहरूको सेवा सुविधा बढाउन नहुने बताउनुभयो ।