समान सहभागिताबाट सकारात्मक परिवर्तन सम्भव : प्रधानमन्त्री ओली

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिला र पुरुषको समान सहभागिताबाट समाजका सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आज यहाँ आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली परम्परा र संस्कृतिले महिलालाई देवीसरह मान्दै परिवर्तनशील र गतिशील शक्तिका रूपमा चित्रण गरेकाले महिलाको समान सहभागिता आवश्यक भएकामा जोड दिनुभयो ।

रथको एउटा पाङ्ग्रो मात्रै चलेर रथ गुड्न सक्दैन, त्यसकारण हामीले महिला र पुरुषससहितको समान सहभागिताबाट सिङ्गो समाजलाई अगाडि बढाउनुपर्छ । सामाजिक न्याय र समानता स्थापित गर्दै गरिबी हटाउने सवालमा निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीले बातउनुभयो । राष्ट्रपति, प्रधानन्यायाधीशलगायत विशिष्ट पदमा महिलालाई स्थापित गरिसकेको र राजनीतिमा महिलाको सहभागिता बढ्कोमा खुसीको विषय हो तर हामी यसमा मात्रै सन्तुष्ट भएर बस्नु नहुने जिकिर गर्नुभयो । शिक्षा, उद्यम र रोजगारीका क्षेत्रमा महिलालाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

सरकार र निजी क्षेत्रको सहकार्य बढाउँदै उद्यम विकास तथा महिला सशक्तीकरणलाई प्रोत्साहन गरिएको बताउँदै उहाँले अर्थतन्त्रको विकासका साथै सुशासन प्रवर्धन गर्न सरकार प्रतिबद्ध भएको बातउनुभयो ।

प्रधानमन्त्रीले कानुनहरु काम अल्झाउन नभई विकासमा सहयोगी हुन बनाइनुपर्ने उल्लेख गर्दै सम्मेलनबाट प्राप्त सुझाव अध्ययन गरी सरकारका नीति, व्यवहार र कानुनहरूलाई परिस्कृत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्यमा औद्योगिकीकरणको प्रवर्धनलाई वर्तमान सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले सरकारी निकायमा स्वदेशी वस्तुको उपयोगसम्बन्धी कार्यविधि जारीलगायत सुधारका माध्यमबाट आर्थिक क्षेत्रको विकासका लागि काम भइरहेको जानकारी दिनुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीबाट राष्ट्रिय फुटबल खेलाडी प्रीति राई र सामाजिक अभियन्ता रुक्साना कपालीलाई सम्मान गर्नुभयो ।