वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या

पर्सा । औद्योगिक तथा व्यापारिक नगरी पर्साको वीरगञ्जमा गर्मी लागेसँगै लामखुट्टेको समस्या बढ्न थालेको छ । फागुन मध्यपछि नै लामखुट्टेले सताउन थालेको हो । गर्मीको शुरूआतसँगै लामखुट्टेको प्रभाव देखिएकाले बिहान र बेलुका अझ सास्ती हुने गरेको स्थानियबासिन्दा बताउँछन् । वीरगञ्ज महानगर क्षेत्रको भित्री सडकमा फोहरमैला थुप्रिने गरेको छ ।

वीरगञ्ज महानगर–६ मिनाबजारमा व्यापार गर्दै आएका परशुराम तेलीले लामखुट्टेले टोक्न थालेको तर महानगरले लामखुट्टे नियन्त्रणका उपाय अपनाउन बेवास्ता गर्ने गरेको बताउनुभयो । वीरगञ्ज महानगर–४ बिर्ताका राकेश झा पनि लामखुट्टे आतङ्क नै भएको गुनासो गर्नुहुन्छ ।

वीरगञ्ज मच्छडगञ्ज भइसक्दा पनि रोकथाममा ध्यान नपुग्दा डेङ्गीको जोखिम बढेको उहाँको भनाइ छ । वीरगञ्ज महानगरको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदिन मियाँले आजदेखि सवै वडामा कार्यतालिका बनाएर लामखुट्टेको लार्भा मार्ने अभियान शुरु गर्न लागेको जानकारी दिनुभयो । अभियानलाई चैत २४ गतेसम्म निरन्तरता दिने उहाँको भनाइ छ ।