पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नका लागि पहल भइरहेको छ : सञ्चारमन्त्री गुरुङ

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश खेलकुदका पूर्वाधारको विकासमा पछाडि पर्दै गएको अनुभूति भैरहेको बताउनु भएको छ।

हिजो पोखरा-२९ भण्डारढिकमा आयोजित सूर्य तारा खेल महोत्सवको समापन समारोहमा बोल्दै मन्त्री गुरुङले पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माण गर्नका लागि लागिरहेको उल्लेख गर्नुभयो।

सेती घाटको १ ६० रोपनी जग्गा प्रदेश सरकारको नाममा ल्याइसकेको र अन्य विभिन्न ठाउँमा गरेर १४ सय रोपनीभन्दा बढी जग्गा प्राप्त गरे पनि पूर्वाधार निर्माणमा प्रगति गर्न नसकिएको मन्त्री गुरुङले बताउनु भयो। उहाँनले पोखरा खेलकुदको राजधानी हुन सक्ने औँल्याउनुभयो । त्यतिमात्र नभएर पोखरा आइटी, शिक्षा तथा स्वास्थ्यको समेत राजधानी हुन सक्ने भनाइ उहाँको थियो ।

गण्डकी प्रदेशको विकासको लागि पोखरालाई केन्द्र मानेर विश्वविद्यालय, अस्पताल र खेल पूर्वाधार निर्माण गर्ने दायित्व सबैको रहेको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री समेत रहेका मन्त्री गुरुङले औँल्याउनुभयो । वर्तमान सरकारले विकृति विसङ्गतिलाई रोक्दै जनतामा छाएको निराशा तथा युवामा देखिएको सरकार प्रति अविश्वासलाई चिर्नेगरी काम गरिरहेको उल्लेख गर्नुभयो।

छिटो छिटो सरकार फेरिने र स्रोतको सुनिश्चितता बिना नै नयाँ योजना राख्दा समस्या देखिएकोले त्यसलाई अन्त्य गर्ने गरी वर्तमान सरकारले काम गरिरहेको मन्त्री गुरुङले बताउनुभयो। अर्थ मन्त्रालयले गरेको र राष्ट्रिय योजना आयोगले सिफारिस गरेका ठूला राम्रा योजना मात्र ल्याउने सरकारको तयारी रहेको भन्दै यो पटक धेरै योजना पार्न नसक्ने स्पष्ट पार्नुभयो ।

कांग्रेस र एमालेसहितको समीकरणमा वर्तमान सरकार निर्माण नभएको भए नेपाल श्रीलंकाको जस्तै अर्थतन्त्र फेल भएर मुलुक असफल बन्ने अवस्थामा पुगेर विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोषले जमानी बसेर ऋण दिएर उकास्नुपर्ने परिस्थितिमा पुग्ने स्थिति आउने दाबी समेत रहेका मन्त्री गुरुङले गर्नुभयो । नेपाललाई असफल मुलुक हुनबाट जोगाएका उहाँको भनाइ छ।

सूर्य तारा क्लबका अध्यक्ष तथा खेल महोत्सवका कार्यक्रम संयोजक विष्णु पुनको अध्यक्षतामा भएको समापन समारोहमा एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री भानुभक्त ढकाल, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, नेपाल खेलकुद महासंघका अध्यक्ष एवं प्रदेश खेलकुद विकास बोर्ड कोशीका सदस्य सचिव पर्शुराम बस्नेत, पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङ लगायतले बोल्नुभएको थियो।