ललितपुरमा गजलकार गुलाम अलीको प्रस्तुती

काठमाण्डौ । प्रसिद्ध पाकिस्तानी गजलकार गुलाम अलीले हिजो ललितपुरको पुल्चोकमा साङ्गीतिक प्रस्तुति दिनुभएको छ । पुल्चोकमा रहेको द प्लाजामा ‘गुलाम अली थ्री जनेरेशन अन वान स्टेज’ कार्यक्रममा उहाँले झन्डै तीन घण्टा आफ्नो प्रस्तुति दिनुभयो ।

कार्यक्रम साधना कला केन्द्रले आयोजना गरेको हो । केन्द्रका अध्यक्ष मिलन मोक्तानका अनुसार गायक अली ११ सदस्यीय ब्याण्डसहित प्रस्तुतिका लागि बिहीबार नेपाल आउनुभएको हो । हिजोको कार्यक्रममा गायक अलीका छोरा अमिर र नाति नाजिरले पनि प्रस्तुति दिनुभएको छ ।

सङ्गीतकार दीपक जङ्गमले गजलकार अलीको कार्यक्रमले नेपाली गजलकारलाई थप ऊर्जा प्रदान गरेको बताउनुभयो । गजलकार अलीका ‘गाजलु ती ठूलाठूला आँखा’, ‘किन किन तिम्रो तस्बिर’, ‘लोलाएका ती ठूला’, ‘के छ र दिउँ’,लगायत नेपाली गीत र गजल प्रसिद्ध छन् ।