कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आज हावाहुरी चल्ने सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाण्डौ । आज देशका पाँच वटा प्रदेशका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना छ ।

दिउँसोपछि कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका साथै स्थानीय वायुकोसमेत प्रभाव रहेको छ ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा मौसम आंशिकदेखि साधारणतया बदली, लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भागमा आंशिक बदली अनि बाँकी भागमा मौसम सफा छ । कर्णालीका थोरै तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा आज बिहान मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा समेत भएको छ । ती क्षेत्रका थोरै ठाउँमा दिउँसो पनि मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन र चट्याङ्गको सम्भावना रहेका क्षेत्रमा सतर्कता अपनाउन समेत मौसमविद्ले आग्रह गरेका छन् ।