
अन्तरिक्षमा नौ महिनादेखि रोकिएका दुई जनालाई फिर्ता ल्याउन स्पेसएक्सले रकेट पठायो
एजेन्सी । अन्तरिक्षमा अलपत्र दुई जना यात्रीलाई फिर्ता ल्याउन स्पेसएक्सले रकेट पठाएको छ । अन्तरिक्षयात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई अन्तरिक्षबाट पृथ्वीमा ल्याउनका लागि एलन मस्कको अन्तरिक्ष एजेन्सी स्पेसएक्सको रकेट प्रक्षेपण गरिएको हो ।
अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यसलाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट प्रक्षेपण गरेको छ । दुवै अन्तरिक्षयात्री आठ दिनका लागि अघिल्लो वर्ष जुन ५ मा स्पेस स्टेशन गएका थिए ।
उनीहरू बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा गएका थिए । तर स्पेस क्राफ्टमा प्राविधिक त्रुटि आएपछि उनीहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिएका छन् ।
भारतीय मूलकी अमेरिकी अन्तरिक्षयात्री सुनी र बुच विल्मोर सम्भवतः अबको चार दिनपछि अर्थात् मार्च १९ तारिखमा अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट पृथ्वीमा फर्कने नासालाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि उनीहरूको फिर्तीका लागि प्रक्षेपण गर्न खोजिएको फाल्कन-९ अन्तिम समयमा स्थगित गरिएको थियो ।