
देश कहिल्यै अमेरिकाको भाग नबन्ने क्यानडाका नवनियुक्त प्रधानमन्त्री कार्नीको बाचा
एजेन्सी । क्यानडाका नवनियुक्त प्रधानमन्त्री मार्क कार्नीले पदभार ग्रहण गर्नुभएको छ । जस्टिन ट्रुडोले झण्डै एक दशक लामो नेतृत्वपछि गएको वर्ष जनवरीमा आफ्नो राजीनामा घोषणा गर्नुभएको थियो ।
क्यानडाको नयाँ प्रधानमन्त्रीको रूपमा शपथ लिएलगत्तै कार्नीले देश कहिल्यै अमेरिकाको भाग वा हिस्सा नबन्ने बाचा गर्नुभएको छ ।
सत्तारुढ लिबरल पार्टीको नेता निर्वाचित भएको केही दिनपछि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चलिरहेको व्यापार युद्धको बीचमा उहाँले हिजो पदभार ग्रहण गर्नुभएको हो ।
कार्नीले अमेरिकी विदेशमन्त्री मार्को रुबियोले हालै ५१ औँ राज्यका सन्दर्भमा गरेको टिप्पणीलाई ‘पागलपन’ को संज्ञा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्यानडालाई गाभ्ने सार्वजनिक अभिव्यक्तिको पनि खण्डन गर्नुभएको छ ।
प्रधानमन्त्री कार्नीले आफ्नो पहिलो विदेश भ्रमण फ्रान्स र बेलायत हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।
तत्काल ट्रम्पसँग भेट्ने कुनै योजना नरहेको उहाँको भनाइ छ । कार्नी नयाँ प्रधानमन्त्री बन्नु अघिदेखि नै क्यानडा र अमेरिकाबीचको सम्बन्ध बिग्रिएको छ । यसअघि उहाँले थप आर्थिक द्वन्द्वबाट बच्नका लागि नयाँ व्यापार सम्झौताका लागि वार्ता गर्न ट्रम्पसँग छलफल गर्ने बताउनुभएको थियो ।