
हिमवत्खण्डका समुदायबीच कला र संस्कृतिको आदानप्रदानले एकता सुदृढ बनाउने विश्वास
काठमाण्डौ । हिमवत्खण्ड कला-साहित्य-सांस्कृतिक सम्मिलन काठमाण्डौमा सुरु भएको छ। शुक्रबार हिमवत्खण्ड क्षेत्रका विविध भाषा, संस्कृति, सभ्यता तथा ज्ञानपरम्परालाई आत्मसात् गर्दै विभिन्न जातजाति र समुदायबीच सांस्कृतिक आदान-प्रदानको अवसर गर्ने उद्देश्यका साथ मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले सम्मिलन आयोजना गरेको हो ।
सम्मिलनको उद्घाटन गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला साहित्य र संस्कृतिको बारेमा गरिने अन्तक्रियाबाट हिमवत्खण्डको गरिमालाई उजागर गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । विश्वव्यापीकरणको तीव्र प्रक्रियामा राष्ट्रियता पनि भूगोलको सीमाभित्र नरहेको बताउँदै उहाँले विश्वको जुनसुकै ठाउँमा पनि नेपालीलाई भाषाले एकतृीत बनाएको उल्लेख गर्नुभयो।
पूर्वराष्ट्रपति भण्डारीले हिमवत्खण्डभित्र बसोवास गर्ने विविध समुदायबीच कला, साहित्य र संस्कृतिको आदान प्रदानले आपसि समझदारी र भावनात्मक एकतालाई सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो । प्राचिन समयको साझा पौराणिक भूगोलका बासिन्दा आज विविध मुलुकका नागरिक भएकामा खुसी हुनुपर्ने उहाँको धारणा छ ।
उहाँले हिमवत्खण्डका साझा चुनौती सामना गर्न वातावरणीय संरक्षण, जलस्रोत व्यवस्थापन, हरित ऊर्जा प्रवद्र्धन तथा स्थानीय समुदायलाई जलवायु परिवर्तन अनुकूलन रणनीतिमा सहभागी गराउनुपर्ने बताउनुभयो ।
सम्मिलनमा हिमवतखण्डमा विकसीत सभ्यता तथा सांस्कृतिक वैभवमाथि प्राज्ञिक विमर्श गरिनुका साथै तिनको अध्ययन, अनुसन्धान, संरक्षण र प्रवर्धनमा जोड दिइने प्रतिष्ठानले जनाएको छ। तीन दिनसम्म चल्ने सम्मिलनमा नेपालका सातै प्रदेशका साथै भारत, चीन, बंगलादेश, म्यानमार, भुटान र थाइल्यान्डबाट आएका प्रतिनिधिहरुबाट लोकसंस्कृतिसम्बन्धी कार्यपत्रहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ।