अस्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर

एजेन्सी । अस्ट्रेलियाका पूर्वक्रिकेटर स्टुअर्ट म्याकगिल कोकिन आपूर्ति मामिलामा दोषी ठहर भएका छन् । कोकिन आपूर्तिमा संलग्न भएको आरोपमा म्याकगिललाई सिड्नी जिल्ला अदालतले आज दोषी ठहर गरेको स्थानीय मिडियालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

उनले सन् २०२१ मा आफ्नो व्यक्तिगत कोकिन डिलरलाई एक सहयोगीसँग परिचय गराएका थिए । त्यसपछि ती दुई जनाले आपसमा दुई लाख अमेरिकी डलरको लागूपदार्थ सम्झौता गरेको प्रहरीले जनाएको छ ।

यद्यपि म्याकगिल त्यसपछिको कारोबारमा संलग्न नभए पनि जुरीले ५४ वर्षी पूर्वक्रिकेटरलाई जानीजानी प्रतिबन्धित लागूपदार्थको आपूर्तिमा सहभागी भएको दोषी ठहर गरेको खबरमा उल्लेख छ । जुरीले उनलाई व्यावसायिकस्तरको लागूपदार्थ आपूर्तिमा संलग्न हुने अझ गम्भीर आरोपमा भने निर्दोष ठहर गरेको छ ।

स्पिनर म्याकगिलले सन् १९९८ देखि २००८ सम्म अस्ट्रेलियाका लागि ४४ टेस्ट खेलेका थिए ।