
चैतका लागि वाणिज्य बैंकहरूको नयाँ ब्याजदर सार्वजनिक : १७ वटाको स्थिर, ३ वटाले घटाए
काठमाण्डाै । वाणिज्य बैंकहरूले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।
भोलिदेखि लागू हुनेगरी सार्वजनिक ब्याजदर अनुसार २० मध्ये १७ वटा वाणिज्य बैंकले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । हिमालयन, लक्ष्मी सनराइज र नेपाल बैंकले भने ब्याजदर सामान्य घटाएका छन् ।
चैतमा वाणिज्य बैंकहरूको ब्याजदर व्यक्तिगत मुद्दतीतर्फ औसतमा ५ दशमलव ९३ प्रतिशत कायम भएको छ । फागुनमा यो प्रतिशत औसतमा ६ दशमलव ०१ थियो ।
चैत महिनामा एनआईसी एशिया बैंकमा पैसा राख्दा सबैभन्दा बढी ६ दशमलव ६ प्रतिशत ब्याज पाइने भएकाे छ । सबैभन्दा कम लक्ष्मी सनराइज र नेपाल एसबीआई बैंकमा ५ दशमलव ५ प्रतिशत मात्रै ब्याज पाइन्छ ।
२० मध्ये ६ वटा बैंकको व्यक्तिगत मुद्दतीतर्फ पनि ६ प्रतिशतभन्दा कम ब्याजदर रहेको छ । बचततर्फ भने १३ वटा बैंकको ब्याजदर ३ प्रतिशत रहेको छ । बाँकीले ३ दशमलव ०१ देखि ३ दशमलव १ प्रतिशतसम्म ब्याज दिन्छन् ।
फागुन महिनामा केही बैंकले ब्याजदर बढाएका भए पनि तरलता नघटेपछि चैतमा धेरै बैंकहरूले ब्याजदर स्थिर राख्नुका साथै तीन वटाले घटाएका हुन् ।