युरोपियन युनियनसँग पनि चर्को आयात कर लगाउने अमेरिकको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताउनुभएको छ ।

युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गर्नुभएको हो ।

ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आउनुभएको बीबीसीले जनाएको छ । उहाँले यसै महिनाको शुरूवातमा घोषण गर्नुभएको स्टील तथा आल्मुनियम आयातमाथिको २५ प्रतिशत भन्सार शुल्कविरुद्ध युरोपियन युनियनले जवाफी करको घोषणा गरेको थियो । यसैको विरुद्धमा अमेरिकाले जवाफी कर नीतिको घोषणा गरेको हो ।

क्यानाडाले पनि कुनै पनि अमेरिकी सामान आयातमा जवाफी कारबाही स्वरुप २० बिलियन अमेरिकी डलरको सामानमा दोहोरो अङ्कको कर लगाउने भनेको छ ।

बेलायती प्रधानमन्त्री किअर स्टार्मरले ट्रम्पको आयातकरको अडानलाई व्यापार युद्ध भन्दै आफूहरु त्यसको विकल्प खोजिरहेको बताउनुभएको खबरमा उल्लेख छ ।

आर्थिक दृष्टिको एक केन्द्रीय हिस्सा मानिएको ट्रम्पका भन्सार शुल्क वृद्धि नीतिले रोजगारी  प्रवर्द्धन गर्ने विश्वास लिइएको छ तर आलोचकहरुले यसले महँगी बढ्ने र अमेरिकी उपभोक्तासमेतलाई असर पर्ने  टिप्पणी गरिरहेका छन् ।