
क्यानडाको स्टील र आल्मुनियममा ५० प्रतिशत कर लगाउने अमेरिकाको योजना स्थगित
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाली स्टील र धातु आयातमा अमेरिकी कर दोब्बर गरी ५० प्रतिशत पुर्याउने योजनालाई स्थगित गर्नुभएको छ । यसअघिको २५ प्रतिशतको कर नीति भने आजदेखि लागू हुने बीबीसीले जनाएको छ ।
क्यानाडाको ओन्टारियो प्रान्तले अमेरिकाका केही उत्तरी राज्यहरूमा पठाउने बिजुलीमा २५ प्रतिशतको नयाँ शुल्क वृद्धि हटाएपछि राष्ट्रपति ट्रम्प पनि लचिलो बन्नुभएको हो ।
यसअघि क्यानडाले बिजुलीमा शुल्क बढाउने बताएपछि ट्रम्पले क्यानडामा आफ्नो कर तीव्र रूपमा बढाउने धम्की दिँदै आउनुभएको थियो ।
अमेरिकाको निकटतम व्यापार साझेदार क्यानडाले ट्रम्पको भन्सार शुल्क बढाउने नीतिले समस्या भोग्नु परिरहेको छ ।
राष्ट्रपति ट्रम्पले मेक्सिको र चीनमा पनि कर बढाएपछि उनीहरुले पनि बदला स्वरुप विभिन्न करको घोषणा गरिरहेका छन् । यसले व्यापार युद्ध निम्ताइरहेको विज्ञहरुले बताउँदै आएका छन् ।