फोहोर गरेबापत राप्रपाले काठमाण्डौ महानगरलाई १ लाख रुपैयाँ जरीवाना तिर्‍यो

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले हिजोको प्रदर्शनमा फोहोर गरेबापत काठमाण्डौ महानगरपालिकालाई १ लाख रुपैयाँ जरीवाना बुझाएको छ ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महानगरको खातामा एक लाख रुपैयाँ आज दाखिला गरेको जानकारी दिनुभएको हो । पूर्वराजा ज्ञानेन्द्र शालाई स्वागत गर्न राप्रपालगायत राजावादी शक्तिहरूले हिजो काठमाण्डौमा प्रदर्शन गरेका थिए ।

जनप्रदर्शनका सहभागीहरूबाट सार्वजनिक क्षेत्रका सडकमा फोहोरमैला र भौतिक क्षति भएको दाबी गर्दै काठमाण्डौ महानगरपालिकाले फोहोरमैला व्यवस्थापन ऐन, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन तथा महानगरपालिकाको आर्थिक ऐनबमोजिम एक लाख रुपैयाँ जरीवाना तोकेको थियो ।

राप्रपाका प्रमुख सचेतक शाहीले आफ्नो पोस्टमा प्रदर्शनमा क्रममा भौतिक क्षति र फोहोर भएको कुरा स्वीकार गर्दै विधिको शासन मानेर काठमाण्डौ महानगरको निर्णयलाई स्वीकार गरेको उल्लेख गर्नुभएको छ ।