
विपद् व्यवस्थापन गर्न बाँकेका ८ पालिकाबीच सहकार्य
काठमाण्डौ । बाँकेका ८ पालिकाले विपद् व्यवस्थापन गर्नका लागि साझा समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । अन्तरपालिका समन्वय, सहकार्य एवम् अनुभव आदानप्रदानसम्बन्धी भएको समन्वय बैठकमा समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
पालिकाहरूबीच विपद् जोखीम न्यूनीकरण र व्यवस्थापनको क्षेत्रमा प्रभावकारी रूपले कार्य गर्नका लागि समन्वय, सहकार्य र श्रोत साझेदारीलाई प्रवर्द्धन गर्ने, विपद् व्यवस्थापनको क्षेत्रमा पालिकामा भएका असल अभ्यास र सिकाइको अनुशरण गर्दै एक पालिकाले अर्को पालिकालाई मानवीय, आर्थिक तथा प्राविधिक सहयोग गर्ने उल्लेख रहेको नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले बताउनुभयो ।
यसबाहेक विपद् व्यवस्थापनमा सहयोग आदानप्रदान गर्न तथा सहकार्य गर्न स्रोत साझेदारीका लागि सम्बन्धित पालिकाको मौजुदा कानून अद्यावधिक गर्ने, आगलागीको समयमा कुनै पालिकाले दमकल सेवा माग गर्दा तुरुन्त उपलब्ध गराउनुपर्ने समेत समझदारीपत्रमा उल्लेख छ ।
विपद्को समयमा आवश्यक पर्ने उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सेवा, अस्थायी आवासजस्ता अत्यावश्यक सेवा तत्काल प्रदान गर्ने उद्देश्यले त्यस्ता सामग्रीहरूको निश्चित मात्रामा भण्डार गर्ने पनि समझदारीपत्रमा उल्लेख छ ।