
बैतडीमा बालिका बलात्कारको आरोपमा २ जना पक्राउ
बैतडी। बैतडीमा बालिकामाथि बलात्कारको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको शिवनाथ गाउँपालिकाकी १५ वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका ३० वर्षीय पुरुष पक्राउ हुन् ।
गत पुसमा बालिकामाथि बलात्कार गरेको जाहेरीको आधारमा ती पुरुषलाई हिजो पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बलदेव बडूले बताउनुभयो । पक्राउ परेकामाथि अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान सुरु भइसकेको बडूले बताउनुभयो ।
यस्तै मेलौली नगरपालिकामा पनि १६ बर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा सोही ठाउँका २५ वर्षीय पुरुषलाई पनि पक्राउ गरिएको छ । ती पुरुषले बालिकामाथि २०८० असार र कात्तिकमा जबरजस्ती करणी गरेको जाहेरी परेपछि उनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो । पक्राउ परेका ती पुरुषलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । अदालतबाट म्याद थपका लागि जिल्ला ल्याउने तयारी भइरहेको प्रहरी निरीक्षक बडूले बताउनुभयो ।