सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण सम्भव छैनः उपाध्यक्ष शाक्य

काठमाण्डौ । नेकपा (एमाले)का उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सोच परिवर्तन नभएसम्म समृद्ध नेपाल निर्माण गर्न नसकिने बताउनुभएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा एमाले अनेमसङ्घ केन्द्रीय कमिटीले ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर आयोजना गरेको जलवायु परिवर्तन, महिला अवसर र सम्भावना विषयक गोष्ठीलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनुभएको हो ।

उहाँले अहिले पनि सामन्ती अवशेषहरू अझै बाँकी रहेको भन्दै यसलाई अन्त्य गर्न जरुरी रहेको बताउनुभयो । उहाँले सामन्ती अवशेष अन्त्य गर्न वैचारिक सङ्घर्ष जरुरी रहेको बतउनुभयो । अहिले जलवायु परिवर्तनको समस्या जटिल बनिरहेको जानकारी दिनुभयो । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो ।

‘‘सोचमा रूपान्तरित नभएसम्म हामीले समृद्ध नेपाल निर्माण गर्न सक्दैनौँ समानतायुक्त नेपाल निर्माण गर्न सक्दैनौँ । अहिले पनि नेकपा एमालेले स्पष्ट भनेको छ । पितृसत्ता छ । सामन्ती अवशेषहरू बाँकी रहेका छन् । सामन्ती व्यवस्था अन्त्य गरे पनि सामन्ती अवशेष बाँकी छ । त्यो कहाँ छ भन्दा हाम्रो नेतृत्वको दिमागमा छ । सामन्ती अवशेष अन्त्य गर्न, हटाउन वैचारिक सङ्घर्ष जरुरी छ ।,’’ उपाध्यक्ष शाक्यले भन्नुभयो, ‘‘सामन्ती अवशेष सहजै हट्दैन । अहिले जलवायु परिवर्तनको कुरा गरिरहँदा अत्यन्तै जटिलतापूर्ण छ । जलवायु परिवर्तनको मुद्दा राजनीतिक मुद्दा बन्नुपर्छ । जलवायु परिवर्तनले नेपाल पीडित हो । अब यो विषयलाई सामान्य छलफल गरेर पुग्दैन । अझै गहिराईका साथ छलफल गर्नुपर्छ । जलवायु परिवर्तनको विषय सबै राजनीतिक दलहरूले प्राथमिकतामा राख्नुपर्छ ।’’

उपाध्यक्ष शाक्यले आफूहरू संविधानमार्फत, सुशासन, समृद्ध नेपाल बनाउन लागिरहेको बताउनुभयो । आफूहरूको एजेन्डा नै आर्थिक, सामाजिक, सांस्कृतिक एजेन्डा भएको दाबी गर्नुभयो ।