
सेयर बजार आज उच्च अङ्कले घट्यो
काठमाण्डौ । सेयर बजार परिसूचक नेप्से आज उच्च अङ्कले घटेको छ । कारोबार हुने हप्ताको पहिलो दिन आज नेप्से परिसूचक ४६ दशमलव ३३ अङ्कले घटेर २ हजार ७ सय ७२ दशमलव १० विन्दुमा झरेको हो ।
आजसहित सेयर बजार लगातार पाँचौँ दिन ओरालो लागेको हो । कुल २४ कम्पनीको मूल्य बढ्दा २ सय १७ वटाको घट्यो ।
आज अन्य उपसमूह सर्वाधिक २ दशमलव ६९ प्रतिशतले ओरालो लागेको छ । इन्भेष्टमेन्ट २ दशमलव ४९, फाइनान्स १ दशमलव ८७, डेभलपमेन्ट बैंक १ दशमलव ७१ र माइक्रो फाइनान्सको सूचक १ दशमलव ५८ प्रतिशतले घटेको छ ।
आज १० अर्ब ९ करोड ३६ लाख रुपैयाँको सेयर किनबेच हुँदा सर्वाधिक हिमालयन रिइन्स्योरेन्सको एक अर्ब १२ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।